|  

खानेपानीमन्त्री यादव भारतको औपचारिक भ्रमणमा

१७ फागुन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा गएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव भारत गएका हुन् । मन्त्रीको भारत भ्रमणबारे जानकारी दिँदै खानेपानी मन्त्रालयका सहसचिव ई मीना श्रेष्ठले भने, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ः०० बजे भारत प्रस्थान गर्नुभएको हो । उक्त समझदारीपत्रमा सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गर्नुहुने छ ।’

भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ । खानेपानीको  स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको छ । उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान-प्रदान, वर्षात्को पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी भारतको नीति आयोगसँग समेत छलफल गर्ने र त्यहाँका केही राम्रा खानेपानी आयोजनाको अवलोकन भ्रमणसमेत गरिने कार्यक्रम पनि तय भएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।