|  

आगामी निर्वाचनसम्म एमाले-कांग्रेसबीचकाे सहकार्य कायम रहनेछः महासचिव पोखरेल

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबिचको सहकार्य निरन्तर रहने दाबी गरेका छन् ।

मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको भन्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भनेका छन्,‘कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा(एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ । त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपनामात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।’

महासचिव पोखरेलले अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए । भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठूलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उनको भनाइ छ । उनले अहिले ल्याउन लागिएको ६ वटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको भन्दै  मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको दाबी गरे । महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको जानकारी दिए ।