|  

माओवादी र जसपा नेपाल भने-‘समावेशीता मास्ने षड्यन्त्र गरे स्वीकार्य हुँदैन’

१७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले निर्वाचन प्रणाली हेरफेरका नाममा समावेशीता मास्न खोजे संविधान संशोधन अस्वीकार्य हुने बताएका छन् ।

आज पोखरा भएको एक कार्यक्रममा माओवादी केन्द्रकी नेता रेखा शर्मा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनलाई प्राथामिकतामा नराखेको बताएका हुन्। काङ्ग्रेस एमालेबीचको सत्ता गठबन्धनको औचित्य पुष्टीका लागि मात्रै संविधान संशोधनको बुँदा राखिए पनि त्यसप्रति सरकार गम्भीर नभएको उनीहरूको धारणा छ ।

कार्यक्रममा माओवादी केन्द्रकी नेता शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुका साथै, राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक भएको बताइन् । उनले निर्वाचन प्रणाली हेरफेरको बहानामा उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व कटौती गर्न खोजे आफ्नो दललाई स्वीकार्य नहुने बताइन् । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सङ्घीयतालाई सबल बनाउन, न्यायपालिकालाई स्वतन्त्र बनाउन, संवैधानिक आयोगलाई गतिशील बनाउनका लागि संविधान संशोधन आवश्यक भएको बताए । उत्पीडित वर्ग र समुदायको पहिचानका लागि पनि संविधान संशोधन आवश्यक भएको उनले बताएका छन् । नेता यादवले संविधान संशोधनका क्रममा  समावेशीतालाई कमजोर बनाउन खोजे  आफुहरूलाई मान्य नहुने उल्लेख गरे ।

नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले पनि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जनका लागि संशोधन आवश्यक भएको मत राखेका छन् । संविधान गतिशील दस्तावेज भएकाले यसको परिमार्जन आवश्यक रहेको उनको मत छ ।