|  

भूमिसम्बन्धी अध्यादेश फिर्ता नभए सरकारलाई दिइएको समर्थन फिर्ता हुन्छः जसपा नेपाल

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनीष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए आफूहरू अरू पाँच अध्यादेशको पनि विपक्षमा उभिने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अरू अध्यादेशलाई पनि समर्थन नगर्ने स्पष्ट पारेका हुन् । भूमिसम्बन्धी अध्यादेश जग्गा दलाल र बिचौलियालाई पोस्न, नेपालको जंगल मास्न र तराईरमधेसलाई मरुभूमिकरण गर्न ल्याइएको उनले आरोप लगाए । प्रवक्ता सुमनले आफ्नो दलले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको भन्दै उक्त निर्णय देशको हितमा रहेको जिकिर गरे । अध्यादेश ल्याउने विषय संवैधानिक भए पनि हाल नियत सफा नदेखिएको उनको भनाई छ ।

अध्यादेश पारित गराउन सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याउन खोजेको सुनिएको भन्दै उनले त्यसबारे पनि विरोध जनाएका छन् । उनले आफूहरूले सरकारलाई दिएको समर्थन हालसम्म कायम रहेको उल्लेख गरे । तर, यो समर्थन अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ छ ।