|  

गाजामा युद्धविरामको म्याद आज सकिँदै

१७ फागुन, काठमाडौं । इजरायल-हमास युद्धविरामको पहिलो चरण आज सकिँदैछ । तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको युद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको १५ महिनाभन्दा बढी लामो युद्धपछि जनवरी १९ मा युद्धविराम लागू भएको थियो । सुरुको छ हप्ताको अवधिमा गाजाका लडाकुहरूले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकहरूलाई मुक्त गरेका थिए भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेका थिए। बदलामा इजरायली सुरषा नियन्त्रणमा रहेका एक हजार ९०० कैदीबन्दीको रिहाइ भएको छ । युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौं बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने र युद्धको थप स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कायरोमा एक प्रतिनिधिमण्डल पठाएका छन् र मध्यस्थ इजिप्टले इजरायलका साथै सहयोगी मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको ‘गहन वार्ता’ सुरु भएको बताएको छ । आज बिहानसम्म सहमतिको कुनै सङ्केत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ । वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार कायरोमा हमासको प्रतिनिधिमण्डल अनुपस्थित भए तापनि गतिरोध समाधानका लागि छलफल भइरहेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तारअन्तर्गत थप बन्धकहरूलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताएका छन् । हमासको आक्रमणका क्रममा कब्जामा लिएका २५१ बन्धकमध्ये ५८ जना अझै गाजामा रहेका छन् । इजरायली सेनाले कुल बन्धकमध्ये ३४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । मृतक बन्धकमध्ये आठ जनाको शव हमासले इजरायललाई हस्तान्तरण गरिसकेको छ ।