१८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकन अध्यागमन विभागको हिरासतमा परेका छन् ।
उनी साताअघि नेपालबाट अमेरिका जाने क्रममा पक्राउ परेर अमेरिकी अध्यागमनको हिरासतमा पुगेका हुन । यसबारे रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पक्राउ परिसकेपछि थापाले यसअघिनै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने भनेर निवेदन दिएको बताए ।
उनले आफूबारे आइपरेका समस्या समाधान गर्नुपर्ने भएकाले त्यो किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने भन्दै निवेदन दिएको जानकारी दिएका छन । अमेरिकामा रहेका थापा केही सातअघि पक्राउ परेका हुन । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित संघीय हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेनिकट नेता हुन । थापालाई कुन अपराधमा पक्राउ गरिएको खुलिसकेको छैन । अमेरिकामा रहँदा पनि उनी अराजक गतिविधि गर्नेमध्येका एक थिए ।
थापाले गत असोज पहिलो साता राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा देखाउन र जुत्ताको माला लगाइदिन भन्दै फेसबुकमै लेखेका थिए । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा पनि मुद्दा चलेर जेल बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो । अहिले उनी अमेरिकी ग्रीन कार्ड बोकेर हिँडिरहेका छन् ।