|  

एनसेलको बजार हिस्सा बढ्दै जाँदा नेपाल टेलिकम भने पछि पर्ने सम्भावना !

१९ फागुन, काठमाडौं । एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लैजादा नेपाल टेलिकम भने पछि पर्ने सम्भावना देखिएको छ । 

नियामक निकाय दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको पुसको तुलनामा यसवर्षको पुससम्ममा प्रयोगकर्ता ठूलो मात्रमा नेपाल टेलिकमले गुमाएको छ भने एनसेलले बढाएको छ । ग्राहक संख्या हेर्ने हो भने अघिल्लो वर्षको पुसमा एनसेलका १ करोड २९ लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुससम्म १ करोड ४७ लाख पुगेका छन् । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का ग्राहक अघिल्लो वर्षको पुसमा एनसेलका २ करोड २० लाख प्रयोगकर्ता रहेकोमा यो वर्षको पुससम्म १ करोड ५२ लाख पुगेका छन् । तथ्यअनुसार नेपाल टेलिकमका प्रयोगकर्ता घट्दा एनसेलले बजार हिस्सा बढाउँदै लगेको हो । नेपाल टेलिकमजस्ता सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारले तयारी गर्दा पनि उल्लेख्य रुपमा प्रयोगकर्ता बढ्न सकिरहेका छैनन ।

हाल टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको छ  । नेपाल टेलिकमको अघिल्लो महिना सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुले अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको सेयर पुर्याउने घोषणा गरेका थिए । प्रयोगकर्ता घटिरहेकै बेला नेपाल टेलिकमले हालै टपअपसम्बन्धि लिएको निर्णय विवादित समेत बन्यो । साना तिना धेरै कारोबार देखिएको निस्कर्ष निकाल्दै रिचार्ज टपअपमा ५० भन्दा कम रोक्न खोजेको टेलिकमको निर्णय विरोधपछि धेरै समय टिक्न सकेन । टेलिकमका प्रवक्ता हरि ढकालले समायानुसार परिस्कृत हुँदै टेलिकम अघि बढिरहेको दाबी गरेका छन् । उनले टेलिकमले प्रयोगकर्ता बढाउन भन्दा पनि गुणस्तरीयतामा ध्यान दिइरहेको बताए ।