१९ फागुन, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।
साहले सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै पदमा बस्ने नैतिकता नभएको बताएका हुन । उनले भने,‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढि मन्त्रीहरू नै फेल भएका छन्, यो फेलियरहरूको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’
प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरूको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक पाएका थिए । साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरे । उनले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे । साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए ।