|  

कम्युनिष्ट आन्दोलनलाई फेरि एक बनाउन प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

१९ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्। 

सोमवार काठमाडौँमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन्। 

उनले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको सराहना गरिन्। कम्युनिष्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुट परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्वपूर्ण भूमिका खेलेको बताइन्। 

राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात गर्नुपर्ने बताइन्। 

बहुलवाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन्। 

‘राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात गर्नुपर्छ। राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन‚’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अध्यक्ष ओलीले नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकीकरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गरेको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु।’

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक भएको बताइन्। 

प्रधानमन्त्री ओली लोकप्रिय राजनेता भएको उल्लेख गर्दै आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी प्रधानमन्त्री ओलीमा रहेको बताइन्।