२० फागुन, काठमाडौं । चलचित्र ‘लाज शरणम्’का मुख्य कलाकार सिताराम कट्टेल (धुर्मुस)को लुक्सलाई लिएर राम्रै चर्चा भयो ।
पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको ‘लुक्स’मा देखिएको भन्दै उनको चर्चा भयो । तर, यथार्थमा धुर्मुस ‘लाज शरणम्’मा नेताको क्यारेक्टर नभएर व्यापारीको क्यारेक्टरमा छन् । उनी भारतीय व्यापारीको चरित्रमा छन्, जसको नाम चाचा छ । उनले पाइजामा र हाफकोट लगाएका छन् ।
धुर्मुसको रियल शरीरभन्दा निकै मोटो देखिन्छन्, उनी । पेट ठूलो देखाउन उनले शरीरको तौल बढाएका थिए । तौल बढाएर मात्र नपुगेर चीनबाट आफ्नै नाप पठाएर पेटजस्तै देखिने सामग्री मगाएका थिए । कपडा वा यस्तै केही साम्रगी पेटमा राख्दा त्यो ‘नेचुरल’ जस्तो नदेखिने भएकाले चीनबाट हुबहु पेटजस्तै देखिने सामग्री ल्याएको उनको भनाइ छ ।
चलचित्र ‘लाज शरणम्’ फागुन १४ गते रिलिज भइसकेको छ । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकार छन् ।