२० फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ शुरु भएको छ ।
‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलवारदेखि शुरु भएको महोत्सव बिहीवार सम्पन्न हुने बताइएको छ । महिला चलचित्र महोत्सवको पहिलो दिन आज चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको छ । सन १९७९ (वि.सं. २०३६) मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो । काठमाडौंका विभिन्न हलमा संयुक्त रूपमा ५२ हप्ता चल्दै पहिलो सिल्भर जुब्ली चलचित्रको कीर्तिमान कायम गरेको यस चलचित्रमा विश्व बस्नेत, गोपालराज मैनाली, वसुन्धरा भुसाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।
साथै कार्यक्रममा सिन्दुर चलचित्रका कलाकारहरुसँग समेत अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री वसुन्धारा भुसालले चलचित्र क्षेत्रमा धेरै परिवर्तन भइसकेको बताइन् । उनले आफूहरुले चलचित्रमा काम गर्दै गर्दा प्राविधिक एवं व्यवहारिक कठाईहरुको सामना गर्नुपरेको भएपनि अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले चलचित्र क्षेत्रमा काम गर्ने महिलामाथि समाजमा विभिन्न टिकाटिप्पाणी हुने भएपनि वास्तविकता त्यस्तो नभएको बताए । उनले पहिले आलोचना गर्ने दर्शकहरु समेत अहिले आएर सम्मान गर्न थालेको अनुभव सुनाए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चलचित्रसम्बन्धी नीतिहरुमा अझ धेरै कामहरु गर्नुपर्ने देखिएको बताइन् । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमध्ये चलचित्र विधा छानेर काम गरिरहेको बताइन । उनले नेपालमा रहेका सम्पदाहरुको राष्ट्रियकरण एवं अन्तर्राष्ट्रियकरण गर्नको लागि चलचित्र बलियो औजार भएको बताइन् ।
कार्यक्रमको दोस्रो दिन भोलि महिला चलचित्रकर्मीद्धारा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन गरिनेछन भने बिहीवार महिला चलचित्रकर्मीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।