|  

सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँः सांसद कार्की

२० फागुन, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन । 

मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताए । 

उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरु नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई शुरु गर्नुपर्ने बताए । उनले हरेक भन्सार कार्यालयहरुमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधन लगायतका सामग्रीहरु रहेको भन्दै सफाई गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्छन् तर सिंहदरबारमा यति धेरै हाम्रा पुराना गाडीहरु छन् । वर्षौंदेखिका गाडीहरु छन् । अब म पनि अर्थमन्त्री भइसकेको छु । यो हटाउनलाई केले रोकेको छ ? हरेक भन्सार कार्यालयहरुमा धेरै नष्ट गर्ने कुराहरु छन् । त्यो हुन सकेको छैन । यसलाई अन्त्य गर्न के गर्दा उपयुक्त हुन्छ । त्यो गरौँ । भन्सारमा नष्ट गर्न सकिने र नसकिने सामानहरुको यकिन गरेर कसरी यसलाई सफाई गर्नसक्छौँ त्यस दिशामा पनि छलफल गरौँ ।’