२० फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
ललितपुरमा तीन दिनसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यद्यपि बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए । उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको बताए । अन्य पाँच वटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले जनकारी दिए ।
त्यस्तै बैठकले ‘नो केवलकार’ अभियानप्रति समर्थन जनाउँदै वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सुमनले जानकारी दिए ।
बैठकले सबै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए । सबै अधिवेशन सम्पन्न भइसकेपछि हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग र हिमाली राजमार्गमा सय दिने जनतासँग भेटघाट अभियान चलाउने निर्णय बैठकले गरेको छ ।