|  

मकवानपुरमा छोराको ह#त्या आरोपमा बाबुआमा पक्राउ

२२ फागुन, काठमाडौं । मकवानपुरमा चोरको शंकामा प्रतिकार गर्दा छोराको मृत्यु भएको विषयमा बाबुआमा पक्राउ परेका छन् ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीस्थित अदुवाबारीमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएका भरतकुमार भ्लोनका बाबुआमालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा आफ्नै बाबुआमाको कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।

मकवानपुर प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरतको हत्या गरेको आरोप छ ।

प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु औजारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरतले भ्लोन दम्पतीको आँखामा खुर्सानीको धुलो छरेको र उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो ।