|  

महोत्तरीको गौशालामा कागज उद्योग सञ्चालनमा

२२ फागुन, काठमाडाैं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार उद्योगपरिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्याल्सियम कार्बाेनेट उत्पादनको समेत अवलोकन गरे । दुई अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाइ कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी-किताबका लागि प्रयोग हुने कागज उत्पादन शुरु गरेको छ ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ । आइएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ  कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ । यस उद्योगले करिव तीन सयको रोजगारी दिनेछ । नेपालमा वार्षिक करिव डेड लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।