२२ फागुन, काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्थाकै आधारमा आएको दाबी गरेका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ माथि सदस्यहरुले उठाएका प्रश्नमाथि जवाफ गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यादेशले कानूनी व्यवस्था र राष्ट्रिय सभाको नियमावलीलाई उल्लंघन नगरेको दाबी गरे । उनले अर्थ समितिमा विचाराधिन रहेको अध्यादेश फिर्ता लिने र अध्यादेश जारी गने निर्णयसँगै गरेको बताए। उनले संसद नचलेको बेलामा सरकारलाई अध्यादेश जारी गर्न कुनै कानून वा नियमावलीले नरोकेको दाबी गरे ।
अर्थमन्त्री पौडेलले अहिलेको समय सिफ्टमा आधारित भएर २४ सै घण्टा काम गर्न सकिने समय भएको बताए ।प्रतिपक्षीहरुले काम गर्ने समयका बारेमा दिन र रातको कुरा गरेर विधेयकमाथि सस्तो टिप्पणी गरेको उनकाे आरोप छ ।उनले भने,‘दिन र रातको कुरा गर्नुभएको छ, अहिलेको दुनियाँ २४ सै घण्टा काम गर्नसक्ने दुनियाँ हो । वर्किङ आवर सिफ्टमा ८/८ घण्टामा दुई तीन सिफ्ट काम गर्ने चलन छ । कतिबेला काम गरेको राम्रो हुन्छ ? कुन मूहुर्त कुन साइतमा काम गर्ने ? राती र दिउँसोको कुरा जस्तो सस्तो टिप्पणीतिर यत्रो सम्मानित सभाका माननीय सदस्यहरुले किन समय बरबाद गर्ने ?’
उपप्रधान एवं अर्थमन्त्री पोडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन नरहेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याउन सक्ने जिकिर गरे ।