२२ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।
आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसदलाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरुमात्र बसेको नठान्न आग्रह गरेका हुन । कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफुहरु त्यस्ता कर्मचारीको पक्षमा उभिने उनले बताए । उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्व खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्यत क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे । लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित बिपरित कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझाव समेत दिए ।
उनले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरुबाट २२ अर्व रुपैया नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने जिकिर गरे । उनले आफ्नो स्वार्थका लागि कुलमानलाई हटाउने कामबाट पछि हट्न र परिस्थीति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिए । साथै उनले तपाईले के मा आँखा लगाएर कुलमानलाई पदबाट हटाउन खोजिरहनुभएको छ भन्दै प्रश्न पनि गरेका छन् ।