२२ फागुन, काठमाडाैं । निकासी पैठारी (नियमन) विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुले विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् । उक्त विधेयक नेपाली वस्तु तथा सेवाको निर्यातलाई सहज बनाउनेगरी आउनुपर्नेमा उनीहरुको जोड छ । छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले निकासी पैठारी विधेयकले व्यापार प्रक्रियालाई सरल, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पुराना कानूनहरू संशोधन गर्ने लक्ष्य राखेको बताए । नेपालको निर्यातको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गर्दै उनले नीतिगत समस्याको कारण नेपालमा निर्यातभन्दा वस्तुको आयात धेरै हुने गरेको बताए। संरचनागत सुधार गर्न नसकेकै कारण चीनले दिएको शुन्य भन्सारको फाइदा उठाउन नसकेको उनको भनाइ छ । सरकारको अस्पष्ट नीति, निजी क्षेत्रको सिमित चासो, गुणस्तर सुधारमा चुनौति जस्ता समस्याको समाधान दिनेगरी विधेयक ल्याउनुपर्नेमा उनकाे जोड छ ।
नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले निकासी पैठारी विधेयक ल्याउन धेरै ढिला भएको बताए । नेपालको विकास, समृद्धि र रोजगारीका लागि उक्त विधेयक महत्वपूर्ण सावित हुने बताउँदै उनले विधेयकलाई नेपालको बजार र विश्वबजार तथा चाहनाको आधारमा ल्याइनुपर्ने बताउनु भयो । उहाँले कानून नबनेकै कारण नेपालले सधैं व्यापार घाटा सहनुपरेको बताए ।
नेकपा (एमाले)का सांसद दामोदर पौडेल बैरागीले विधेयकले वस्तुहरुलाई निश्चित भन्सारबाट मात्र आयात निर्यात गर्न पाउने कुरालाई व्यवस्थित गरेको भन्दै स्वागतयोग्य रहेको बताएका छन्र । उनले विधेयकले स्वदेशी श्रमसीप एवं कच्चा पदार्थमा आधारित वस्तु निर्यातलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । उनले कसुर र सजायका सन्दर्भमा पनि विधेयकमा महत्वपूर्ण व्यवस्था गरेको भन्दै सरकारलाई धन्यावाद दिए ।
नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले विदेशमा वस्तु र सेवा निकासी गर्ने सवालमा अहिलेसम्मको नेपालको अवस्थाबारे चासो राखे । उनले अहिले नियमित रुपमा श्रमशक्ति निकासी भइरहेको भन्दै विधेयकले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले विधेयकलाई नेपालमा उत्पादित वस्तुको निकासीका र भन्सार व्यवस्थापन हुनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिए ।