२२ फागुन, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पाँचौं पटक स्पष्टीकरण सोधेको छ।
यही फागुन १३ गते २४ घण्टे स्पष्टीकरण सोधेको सरकारले १० दिनमै पदबाट किन नहटाउने भन्दै बिहीबार (आज) अर्को स्पष्टीकरण सोधेको हो।
यसअघि असोज २२ गते, कात्तिक १३ गते र पुस २२ मा स्पष्टीकरण सोधेको थियो। बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाईसचिव सुरेश आचार्यले तीन दिनको समय दिएर घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेका हुन्।
बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले नै घिसिङमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरणमा तपाईंको नियुक्ति रद्द किन नगर्ने भन्दै सोधिएको छ। यसअघि पनि तपाईंलाई किन पदबाट नहटाउने भन्दै स्पष्टीकरण सोधिएको थियो।
कार्यसम्पादन प्रतिवेदन पेस नगरी कार्य सम्पादन सम्झौताको सर्त उल्लंघन गरेको घिसिङमाथि आरोप छ।
बिहीबारको प्रतिनिधिसभामा ऊर्जामन्त्री दीपक खड्काले नेपालको लोडसेडिङ घिसिङले नभइ भारतले हटाएको भन्दै भारतलाई धन्यवाद दिएका थिए।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जामन्त्रीले झुट बोलेको भन्दै कुलमानलाई हटाउने प्रयास गरे नराम्रो हुने चेतावनी दिएका थिए।