|  

महालेखा परीक्षक कार्यालयमा दुई लाख पृष्ठ बढी बेरुजुका चाङ

२२ फागुन, काठमाडाैं । महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताएका छन् ।बिहीबार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले जनप्रतिनिधि मूलक संस्था संसद्लाई बेरुजुको वार्षिक प्रतिवेदन बुझाउने गरेको बताए । 

उनले कतिपय कानुनको त्रुटिका कारणले पनि बेरुजु हुने बताए  । गत आर्थिक वर्षमा भएको बेरुजु र सम्बन्धित मन्त्रालयमा हालसम्म भएका बेरुजुको प्रतिवेदन हरेक वर्ष बुझाउने गरेको उनको भनाइ छ । उनले गत आर्थिक वर्ष ७४६ वटै स्थानीय तहमा भएका बेरुजु कम्युटर प्रणालीबाट सार्वजनिक गरिएको बताए ।

महालेखा परीक्षक रायले सरकारले नीतिमा कार्यक्रम राख्ने तर बजेट नछुट्याउने गर्दा पनि त्यो बेरुजुमा जाने बताए । उनले कतिपय नीतिहरूमा बजेटको व्यवस्था गरेर पनि सञ्चालन नहुने गरेको र कार्यक्रम सञ्चालन नहुँदा सम्बन्धित नागरिकले सेवा नपाउने मात्रै नभई लेखा परीक्षणमा पनि चुनौतीको विषय भएको उनको भनाइ छ ।