२३ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्कन्छ भन्ने कल्पना गर्नेहरूलाई मूर्खको संज्ञा दिएका छन् ।
शुक्रबार पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले ‘पृथ्वीमा जन्मिएको बच्चा आमाको कोखमा फकर्न नसक्ने’जस्तै राजतन्त्र फिर्ती सम्भव नभएको बताए । ‘लोकतन्त्र आइसकेपछि लोकतन्त्रको मूल्य–मान्यतामा सञ्चालन भइरहेको व्यवस्थालाई छोडेर फेरि पनि राजतन्त्र त्यही आमाको गर्भमा फर्कन्छ भन्ने कुरा कल्पना गर्नेहरू मूर्ख हुन्,’उनले भने ।
अरू देशमा व्यवस्था परिवर्तनपछि राजालाई मुलकमा बस्न नदिइएको, सम्पति नै हरण गरेको उनले सुनाए । उनले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुरक्षा प्रदान गरेर स–सम्मान राखिएको बताए ।उनले ‘राजा आऊ देश बचाऊ’ भन्नेहरूलाई दुनियाँमा कुन राजाले देश बचाएको छ ? भन्दै प्रश्न समेत गरे ।
‘राजाले कसरी देश बचाउँछ ? दुनियाँमा कुन राजाले देश बचाएको छ ? आफ्नो ज्यानको, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोके्रसी प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने ।