|  

राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा शाहलाई वर्षमान पुनकाे चेतावनी 

२३ फागुन, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । आज (शुक्रबार) रोल्पा नगरपालिकाको नव निर्मित प्रशासकीय भवन उदघाटन गर्दै पुनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दावी गरे ।

जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमुक कुलमा जन्मिएकै आधारमा शासक हुने व्यवस्थाको पक्षमा कोही नरहेको पुनले बताए । ‘केही राजावादीहरु सडकमा अढाई सय वर्षसम्म वंश पराम्परामा चलेको राजतन्त्र ल्याउने कुरा गर्दै हिंडेको सुन्दा अचम्म लाग्छ’, पुनले भने, ‘आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा जनता छैनन् । गणतन्त्र भनेको पाँच वर्षका लागि राष्ट्रपति चुन्ने र मन नपरे फेरि अर्को ल्याउने प्रजातान्त्रिक व्यवस्था हो । राजतन्त्र ल्याउने कुरा गरेर राजावादीहरुले रमाइलो गरिरहेका छन् ।’

सामन्ती एकाधिकारवादी राजतन्त्र र विचार, आस्था र उद्देश्यविहनि लोकप्रियतावादीहरुको नेपालमा राजनीतिक भविष्य नरहेको पुनले बताए । एकात्मक राजतन्त्रात्मक व्यवस्था मुलुकको माटो सुहाउदो नरहेको निष्कर्षसहित दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण उनले गरे । संविधान र कानूनभन्दा माथि अमुक राजा महाराजा नहुने र जनता नै सबै अधिकारको केन्द्र भएको पुनले स्पष्ट गरे ।