२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य नगरे कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लड्न नसक्ने बताएका छन ।
झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिसहित पार्टी पदाधिकारीहरूसँगको असहमति आफूले राख्दै आएको बताएका हुन् । उनले भने, ‘हामी ठूलो पार्टी हौं, दुई वर्षभन्दा बढी भयो । हामीले सरकारको नेतृत्व पाएका छैनौं । साथीहरू तपाईँहरूले किन नलिएको भन्दै सोधिराख्नुहुन्छ । यो सरकार बन्नुभन्दा पहिले नै मैले ओलीजीसँग कुरा गरेको थिएँ पटकपटक । त्यसबेला उहाँले यो सरकारबाट मुलुक चल्दैन, कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नुहुन्थ्यो, तर अहिले हामी त्यो अवस्थामा छैनौं ।’
उनले कांग्रेस अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै भएको बताए । उनले सरकार सञ्चालन गर्न संयन्त्र गठन गर्नु भनेको कांग्रेसले आफ्नो वैचारिक भावलाई समाप्त पार्नु भएको टिप्पणी गरे । नेता कोइरालाले सरकारले गरेको गलत कामको विरोध कांग्रेसले गर्न सक्नुपर्ने बताए । उनले २०८२ को चैत मसान्तभित्र १५ औं महाधिवेशन भइसक्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेखेर पार्टी नेतृत्वमाथि दबाब दिन निर्देशन दिए ।