२५ फागुन, काठमाडौं । जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा.सीके राउतले व्यक्तिगत रिसिइबीका कारण आफूलाई निलम्बन गरेको दाबी गरेका छन् ।
जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै आज उनलाई पार्टीबाट निलम्बन गरेका हुन् ।
निलम्बनबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवसँग प्रतिक्रिया लिँदा उनले भने, ‘यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो ।’
स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरेका हुन् । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए । पार्टीमा तपाईँको व्यक्तिगत लगानी कति हो त भनी जिज्ञासामा उनले अहिलेसम्म पाँच करोड भन्दा बढी रकम आफूले दिएको तर त्यसको हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी गरे ।
‘भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा मैले यी सबै कुरा उठाउने भनेपछि त्यसको एक दिन अगाडि मलाई कारबाही गरिएको हो,’ उनले आरोप लगाए । कोषाध्यक्ष यादवले आरोप लगाए जस्तै अध्यक्ष राउतले पनि उनीमाथि हिसाब किताब नदिएको आरोप लगाएका छन् । पार्टीमा गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको जस्ता आरोप अध्यक्ष राउतले लगाएका छन् ।