|  

पूर्वराजा शाह पोखराबाट आउँदै, काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।

उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । शाह काठमाडौं फर्किने र उनका समर्थकले ‘भव्य’ स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।सुरक्षा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।