|  

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा ६ हजार राजावादीहरू सहभागी हुने !

२५ फागुन, काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने तयारी गरेका हुन् । पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजाने उनीहरूको तयारी छ ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा बर्दीसहित र सादा पोशाकका प्रहरी टोली परिचालित छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेका थिए । पूर्वराजाको अपिलले राजवादीहरू हौसिएका छन् ।

पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन् । पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन् । उनी दिउँसो साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रियमा अवतरण गर्नेछन् ।