|  

सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यकः महामन्त्री थापा

२५ फागुन, काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा आज रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रमशक्ति रहेको बताउँदै नेपालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताए ।विदेशमा बिनासिपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको उनकाे दाबी छ । नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भनेका छन्, ‘नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन् । नेपालीले काम पाएन भनि रहेका छौँ तर किन काम पाएन भन्नेकुरा यस्तो छ । चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको  हिसावमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ । किन यस्तो भयो होला त ? श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ । तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो । श्रम बजारमा मान्छे छ । कसैले उद्योग खोल्यो । उसलाई श्रमिक चाहिएको छ । सीप दिने अर्कैतिर छ । जुन सीप चाहिएको हो त्यो आइरहेको छैन । फेरि बाहिर (विदेश) को बजारले सीप (स्किल) नभएको मान्छे चाहिएको छ । हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ । उसँग उमेर छ, श्रम शक्ति छ तर सीप छैन । हाम्रोमा स्किल भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा । कृषि क्षेत्रमा भएको श्रम शक्ति ८५ प्रतिशत तह एकको छ ।’

महामन्त्री थापाले देशमा ठूलो जनसंख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए । सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ ।