२६ फागुन, काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४९ ओभरमा पूरा गर्यो ।
भारतको जितमा कप्तान तथा ओपनर रोहित शर्माले ७६ रन बनाए भने श्रेयस अय्यरले ४८ रन बनाए। केएल राहुलले नटआउट ३४ रन जोड्दा भारत विजयी भयो । बलिङमा न्युजिल्यान्डका सान्टनर र ब्रासवेलले २–२ विकेट लिन सके।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१ रन जोड्यो। न्युजिल्यान्डका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे।
ड्यारेल मिचेलले १०१ बल खेलेर ६३ रन जोड्ने क्रममा ३ चौका प्रहार गर्न सके।यस्तै माइकल ब्रासवेलले नटआउट ५३ रन बनाए। उनले १० बलमा ३ चौका र २ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय विल योङ १५ रन र रचिन रविन्द्र ३७ रन जोडेर आउट भए ।
केन विलियमसन ११ रनमै पेभिलियन फर्किए भने टम लाथमले १४ रन र ग्लेन फिलिप्सले ३४ रन बनाउन सके। योसँगै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफी जितेको हो। यसअघि भारतले सन् २०१३ र सन् २००२ मा उपाधि उचालेको थियो।