२६ फागुन, काठमाडौं । अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ ।
निष्कासनमा पर्नेमा खड्का, गुरुङ र सुवेदी थरीका एक–एक जना रहेका छन् । उनीहरुलाई अमेरिकी अदालतको फैसलालाई अटेर गरेर लुकीछिपी बसेको आरोपमा निष्कासन गरिएको हो । उनीहरूलाई गत साता एयर इन्डियाको जहाजबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ ।
मानव तस्करको सहयोगमा उनीहरू अमेरिकामा अवैध प्रवेश गरेका थिए। केही समयपछि उनीहरूको मुद्दा अदालती प्रक्रियामा गएको थियो । त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले कागजपत्रमा कैफियत फेला पारेपछि तीनैजनालाई पीआर दिन अस्वीकार गरेको थियो ।
अदालतले उनीहरूलाई डीपोर्ट (निष्कासन)को आदेश पनि सुनाएको थियो। अदालतको आदेश अवज्ञा गर्दै उनीहरू गैरकानुनी तरिकाले अमेरिकामा लुकीछिपी बस्दै आएका थिए।