|  

राप्रपाले काठमाडौं महानगरले गराएको जरिबाना नतिर्ने  !

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले गराएको जरिबाना नतिर्ने भएको छ ।

राप्रपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राप्रपा र राजसंस्थाप्रति वक्रदृष्टि लगाएको आरोप समेत लगाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले महानगरले पार्टीलाई १ लाख जरिबाना गर्ने निर्णय गरेपनि त्यो नतिर्ने बताए ।

उनले आइतबार पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टी सिंगो सहभागी भएको तर त्यहाँ राप्रपाको झण्डा नभएको बताए ।

‘जरिवाना पूर्वाग्रही हो । कमल थापालाई पत्र नकाट्ने, दुर्गा प्रसाईंलाई पत्र नकाट्ने तर राप्रपालाई मात्रै लक्षित गरेर पत्र काटिनु भनेको यो राजसंस्था र राप्रपाप्रतिको बालेनको वक्रदृष्टि हो’, उनले भने, ‘यो पूर्वाग्रही सोच हो । राप्रपाले जरिबाना तिर्दैन ।’ पूर्वराजालाई स्वागत गर्ने क्रममा एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रमा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई १ लाख जरिबाना गर्ने निर्णय गरेको थियो ।