|  

मलाई साथ देऊ भनेर पूर्वराजाले के मागेको हो बुझन सकिनः  ओली

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता जन्माउने र फाटो ल्याउने खालका खेलहरू हुन थालेको बताएका छन् ।

संविधान निर्माणका बेला त्यस्ता खेलहरू भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि त्यस्तै खेल हुन थालेको बताएका हु न्।सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सबै राजनीतिक दलका नेताहरू अहिलेको संविधान र लोकतान्त्रिक प्रणालीका पक्षमा एक हुनुपर्ने बताए ।

देशलाई प्रतिगमनतिर जान नदिनका लागि सरकारमा भएका वा नभएका राजनीतिक दलहरू एक आवाजमा उभिएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिए।

जसले अस्थिरता वा संविधानविपरीत कुरा गर्नुभएको छ, म सम्झाउन चाहन्छु:यो बाटो विकास रोक्ने खालको हो, जनतालाई भ्रममा पार्ने प्रयास हो,’ उनले भने, ‘कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना देखेको छ भने त्यो सपना नदेख्दा राम्रो।’

प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसका बेला पूर्वराजाका कुरा सुनेर आफू छक्क परेको पनि बताए। ‘उहाँ त संविधानको पनि कुरा गर्नुहुन्न, कानुनको पनि कुरा गर्नुहुन्न। लोकतन्त्र, प्रणाली र प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु देश बचाउँछु,’ प्रधानमन्त्री ओलीले पूर्वराजालाई लक्ष्य गर्दै भने, ‘देश के भएको छ? उहाँहरूका र उहाँहरूबाट प्रेरित यस्ता अराजक क्रियाकलापले देश अप्ठेरोमा पर्दैछ।’

मलाई साथ देऊ भनेर पूर्वराजाले के मागेको हो बुझ्न नसकेको पनि प्रधानमन्त्री ओलीले बताए।