|  

जब एक व्यक्तिले बीमा रकम लिने मनसायले आफ्नै पसलमा आगो लगाए....

२६ फागुन, काठमाडौं । पोखरामा बीमा रकम भुक्तानी लिने मनसायले एक व्यक्तिले आफ्नो पसलमा आगो लगाएका छन् ।

पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो । यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए ।

नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ । अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरीले जनाएको छ । गत माघ महिनामा इन्सुरेन्स गराएको पाइयो । त्यही रकम दावी गरी लिने दूषित मनसायका साथ शर्माले आइटी हबमा आफैंले आगो लगाएको आशंका भयो,’प्रहरीले भन्यो, ‘बीमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं ।’

शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए । जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए । त्यहाँ ६ जना कामदारसमेत छन् ।उनै शर्माले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बीमा गरी फागुन १९ गते आफैंले पसलमा आगो लगाएको पाइएको हो । 

न्युरोडको पसलमा २ जना कामदार थिए । उनीहरु बिदामा रहेका बेला मोबाइल चार्जमा राखेर ट्वाइलेट गएर फर्किँदा केही आवाज आई आगो लागेको बेहोरा उल्लेख गर्दै रमेशले बीमा रकम दाबी गरेर निवेदनसमेत दिएको पाइएको थियो ।