|  

मुलुकमा आन्तरिक रोजगारी अभिवृद्धि गर्न उद्यमशीलतालाई प्राथमिकतामा राखेका छौँः प्रधानमन्त्री

२६ फागुन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आन्तरिक रोजगारीको सिर्जना गर्न सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकारले नीति तथा कार्यक्रममै रोजगारी प्रवद्र्धन दशक घोषणा गरेको उल्लेख गर्दै यो लगानी र रोजगारी अभिवृद्धि दशक हुने बताए । उनले सन् २०३० सम्ममा उद्यमशीलता र आधुनिकीकरणमार्फत सोचेभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । नेपालमा काम अनुसारको पारिश्रमिक नपाउँदा श्रमिकहरु विदेशी गइरहेका कारण श्रम बजार र पारिश्रमिकबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको बताए । उनले भने, ‘हामीले अहिले उद्यमशीलतामा जोड दिनुपर्छ । हाम्रो अहिलेको फोकस भनेको उद्यमशीलता हो । हामीले रोजगारी प्रवद्र्धन दशक भनेका छौं । त्यो भनेको उत्पादकत्व वृद्धि दशक हो । लगानी र अभिवृद्धि दशक हो । जसले रोजगारीका अवसरहरु सिर्जना गर्दछ । सन् २०३० सम्ममा नेपालमा राजगारीका अजसरहरु हामीले सोचेभन्दा बढी सिर्जना गर्नुपर्दछ उद्यमशीलताको मार्फत, आधुनिकीकरणको मार्फत । कृषिको आधुनिकीकरण गर्नसक्यो भने त्यहीबाट उद्यमशीलताको अभिवृद्धि गर्न सकिन्छ । त्यहीबाट आम्दानी बढी हुन्छ ।’

उनले सरकार फलाम र तेल खानीको उत्खनन गर्ने तयारीमा रहेको समेत बताए । उनले फलाम खानीमार्फत नेपाललाई स्टिल र फलामजन्य धातुमा आत्मनिर्भर बनाउन सकिने बताए । उनले श्रम पलायन रोक्दै मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको समेत बताए  । उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिरहेको उल्लेख गर्दै निजी क्षेत्रको सहयोग अपरीहार्य रहेको समेत बताए । काम गरेर जीविका चलाउने स्थिति नभएका कारण श्रमिक पलायन बढिरहेको उनको भनाइ छ ।