|  

सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा

२६ फागुन, काठमाडाैं । राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ ।

आज आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले यसबारे जानकारी गराएको हो । आयोगले सार्वजनिक निकायहरुमा सूचनाको हकको कार्यान्वयन अवस्थाको परीक्षणलाई थप प्रभावकारी तथा व्यवस्थित गर्नको लागि सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका, २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले आगामी २०८२ साल वैशाख २२ गते मनाइने राष्ट्रिय सूचना आयोग स्थापना दिवसको लागि विभिन्न तयारी समितिहरु गठन भइ काम भइरहेको बताए । उनले आयोगले पछिल्लो तीन महिनाको अवधिमा राजनीतिक दलका नेता एवं सूचन अधिकारीहरु र उच्च अदालत पाटनका न्यायाधीशहरुसँगको संवाद काठमाडौंमा सम्पन्न गरेको जानकारी दिए ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघमार्फत हेटौँडामा राष्ट्रियस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताए । सूचना अभियन्ता र सूचना पाउन नसकेका व्यक्तिबाट आएका पुनरावेदनहरुको सुनुवाई अन्तर्गत तीन महिनामा २० वटा इजलास बसी ४ सय ८३ सुनुवाई भएको बताए । सार्वजनिक निकायहरुमा सूचना प्रवाह गर्ने प्रवृत्तिमा आम रुपमा समस्या रहेको बताउँदै उनले सूचना अभियन्ताहरु बढी बैंकिङ, कर कार्यालयहरुमा बढी केन्द्रित रहेको बताए । पछिल्लो समय पुनरावेदन दर्ताको प्रक्रियाबारे उठेका जिज्ञासा समेतलाई सम्बोधन गर्दै उनले पुनरावेदन प्रक्रियालाई सरल बनाउन पुनरावेदन कार्यविधिमा संशोधन प्रक्रिया थालिएको बताए ।