|  

निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रहः अत्याधिक मुनाफा लिने उद्देश्य नराख्नुस् !

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरु खोल्न नहुने बताएका छन् ।

आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रमा लगानी बढाउन समेत निजी क्षेत्रलाई आग्रह गर्दै शिक्षा क्षेत्र उद्योग नभएकाले अत्याधिक मुनाफा कमाउने उद्देश्य नराख्न आग्रह गरे । उनले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरु खोल्नुपर्ने बताए । उनले भनेका छन्, ‘शिक्षा क्षेत्रमा तपाईंहरु लगानी गर्नुस् । तपाईंहरुको सम्पती कसैले पनि खोस्दैन, खोस्न पाउँदैन । यो सम्पतीको हकभित्र पर्छ । नेपालमा सम्पतीको हकभित्र पर्दछ । तपाईंको सम्पती संविधान, नियम कानून बमोजिम, प्रचलन बमोजिम तपाईंहरुले स्वभाविक रुपमा आफ्नो सम्पती आफ्नो ढंगले प्रयोग गर्न पाउनुहुन्छ । यो उद्योग होइन है, त्यसकारण अत्याधिक मुनाफा ननिकाल्नुस् । यो आइटी कम्पनी होइन । अलिकति लगानी गरे धेरै आम्दानी भइहाल्छ । देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने तपाईंको मुल उद्देश्य हो । पैसा कमाउने उद्देश्य होइन ।’

प्रधानमन्त्री ओलीले समाजलाई अशोभनीय खालका कुराहरु हटाउनुपर्ने जरुरी रहेको बताए । सिंगो समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेको बताए ।