२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले लगाएको एक लाख जरिवाना २४ घण्टा नपुग्दै बुझाएको छ ।
२४ घण्टाभित्रै राप्रपाले जरिवाना बुझाउँदा सत्तारुढ नेकपा एमालेले भने महानगरले पत्र काटेको साढे तीन महिना बित्दा पनि एक लाख जरिवाना बुझाएको छैन । गत मंसिर ७ गते एमालेले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो । एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै आएका छन । त्यसबेला जरिवानापत्र बुझाउन महानगरको नगरप्रहरी टोली नै एमाले पार्टी कार्यालय पुगेको थियो । तर, एमालेले जरिवानापत्र बुझ्न मानेन । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ‘औचित्यहीन चिर्कटो’ भन्दै महानगरको जरिवाना नतिर्ने बताएका थिए ।
महानगरले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोस्टर टाँस्ने, निर्माण सामग्री जथाभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रमक नीति लिँदै आएको छ । नगरप्रहरी निरीक्षक भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/०८२ माघदेखिको अहिलेसम्म संस्था तथा व्यक्तिहरूलाई जरिवाना गराइएको छ । नगरप्रहरी निरीक्षक भण्डारीका अनुसार अहिलेसम्म राप्रपासहित २२३ संस्था तथा व्यक्तिलाई सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेकै कसुरमा जरिवाना तिराइएको छ । जसमध्ये २१६ जनालाई जनही ५ हजारका दरले १० लाख ३० हजार जरिवाना तिराएको उनले बताए ।
त्यस्तै, विभिन्न ६ वटा क्लिनिक तथा अस्पताललाई ५० हजारका दरले ३ लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । जरिवाना तिर्नेमा एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिक र धुम्बाराहीस्थित एसियन रेज मेडिकेयर सेन्टर लगायत ६ वटा अस्पताल रहेका छन । महानगरले चिकित्साजन्य फोहोर जथाभावी फालेको भन्दै उनीहरूलाई ५० हजार जरिवाना तिराएको थियो । महानगरले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा फोहोर तथा वातावरण प्रदूषण गर्दा जरिवाना तिराउँदै आएको छ ।