२६ फागुन, काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चार वटा विधेयक प्रमाणित गरेका छन् ।
अध्यक्ष दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका चार वटा विधेयकलाई सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका ती विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ । उनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन् ।
संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रूपमा लागू हुन्छ ।