२६ फागुन, काठमाडौं । नेपाल शिक्षक महासङ्घले भोलिदेखि राजनीतिक दलका कार्यालय घेराउ गर्ने भएको छ ।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत महासंघले भोलीदेखि पार्टीका कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम रहेको छ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन शनिवार देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका थिए ।
त्यस्तै फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत्र १ गते नेकपा माओवादी केन्द्रको कार्यालय र चैत्र २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय घेराउ गर्न लागेको महासंघले जनाएको छ । चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गर्न लागेका हुन । लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको भन्दै ऐन जारी गराउन दबाब दिन महासङ्घले माघ २० गतेदेखि आन्दोलन थालेको थियो ।