|  

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुग्यो

२६ फागुन, काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ ।

गत माघमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १६.१ प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको राष्ट बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेको थियो ।

२०८१ माघ मसान्तमा यो १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेको थियो । २०८१ माघ मसान्तमा ३७.१ प्रतिशले वद्धि भई यो २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ । २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।