|  

पूर्वराजा लक्षित माधव नेपालको टिप्पणीः इतिहासको रथ पछाडि फर्किन सक्दैन

२६ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरु अस्वीकार्य रहेको बताएका छन ।

सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । 

उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे । आईतवार पोखराको एक हप्ताको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरुको उल्लेख्य उपस्थिति थियो । पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरुले पदाधिकार र सचिवालय बैठक समेत बसेका छन् । साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् । सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरुबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए । 
उनले भने, ‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । २४० वर्षको इतिहासले बताइसकेको छ । फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छाँै भने हामी सँच्चिनुपर्छ ।’
अध्यक्ष नेपालले जनताको हित र कल्याणको शासन आवश्यक भएको बताए । उनले नेताहरुले गल्ती गरेको भए सँच्चिन जरुरी रहेको बताए ।