|  

रूस-युक्रेन युद्धमा रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकीको मृ#त्यु 

२७ फागुन, काठमाडौं ।  रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ ।

रुस-युक्रेन युद्धमा परी ४४ वर्षीय बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएको हो । सुनछहरी गाउँपालिका-५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन्  ।

तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए । ‘सम्पर्कबाहिर भएदेखि नै के के गरेर हुन्छ हामीले जोडिन खोजेका थियौं । पहिले कुराकानी भएका उसका साथीहरूसम्म पुग्यौं । पछि पल्टनले नै उनले सहादत प्राप्त गरेको खबर पठाएपछि हामीलाई पनि जानकारी आयो’, उनले भने ।

तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् । तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । नेपाली सेनाको जागिर छाडिसकेको र वैदेशिक रोजगारीमा जाने प्रयास समेत सफल नभएपछि उनी केही समय तनावमा थिए । तर पछि कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरी गाउँमा सक्रिय राजनीति थालेका थिए ।

उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत थिए । तत्कालीन समयमा ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा २ वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो । ०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । त्यसपछि उनी रुस हिँडेका थिए ।

रुस पुगेपछि बुढाथोकीले परिस्थितिले गर्दा रुसी सेनामा भर्ना भएको र अवस्था जटिल रहेको बताउने गरेका थिए । उनले आफू युद्धग्रस्त युक्रेन क्षेत्रमा रहेको खुलाएका थिए ।