|  

युक्रेनमा इन्टरनेट बन्द गर्ने मस्कको धम्की !

२७ फागुन, काठमाडौं ।  टेस्ला र स्टारलिङ्कका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन् ।

आइतबार मस्कले यदि युक्रेनमा आफ्नो स्टारलिङ्क इन्टरनेट प्रणाली बन्द गरे भने युक्रेनको रक्षा रेखा ध्वस्त हुने बताएका छन् ।

मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘स्टारलिङ्क प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो। युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु।’ तर पछि उनले अर्को पोस्ट गर्दै यस्तो आफूले कहिल्यै नगर्ने भनेर स्पस्ट पारेका छन्।

उनले लेखेका छन्, ‘म युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि त्यहाँ स्टारलिङ्कको टर्मिनल कहिल्यै बन्द गर्ने छैन। म स्टारलिङ्क इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिनँ।’स्टारलिङ्कले लो–अर्थ अर्बिट मा उपग्रहहरूको नेटवर्क सञ्चालन गर्दछ।

यसमार्फत धेरै देशहरूमा अन्तरिक्ष–आधारित ब्रॉडब्यान्ड कनेक्टिभिटी प्रदान गर्दछ। कम्पनीले विश्वको जुनसुकै ठाउँमा पनि स्याटेलाइटबाट स्मार्टफोनमा सिधैँ इन्टरनेट सेवा प्रदान गर्न सक्छ।सामान्यतया इन्टरनेट उपग्रहहरू पृथ्वीबाट ३६ हजार किलोमिटरको दूरीमा परिक्रमा गर्छन्, तर मस्कको स्टारलिंक उपग्रहहरू पृथ्वीबाट ५५० किलोमिटरको दूरीमा परिक्रमा गर्छन्।