|  

सरकारले भोलि सांसदहरुको स्वास्थ्य परीक्षण गर्दै

२७ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सांसदहरूमा नसर्ने रोग रहे/नरहेको परीक्षण गर्ने भएको छ ।

जसका लागि संघीय संसद सचिवालयलाई पत्र नै लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन मन्त्रालयले अनुरोध गरेको छ । पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नसर्ने रोग परीक्षण गर्न चिकित्सकको टोली खटिनेछ । उक्त टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ । जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ ।

स्वास्थ्य परीक्षण भोलि बिहान ११ बजेदेखि नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने भनिएको छ । संघीय संसद सचिवालयले परीक्षणमा सहभागी हुन सांसद, कर्मचारी र सुरक्षाकर्मीहरूलाई भनिसकेको छ ।