|  

जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको छैननः कमल थापा

२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन ।’ गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई महत्व दिएको थियो । उक्त र्‍यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू उत्साही भएका छन ।

त्यसअघि पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिले समेत उनीहरूमा उत्साह भरेको थियो । हरेक वर्ष प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिँदै आएका छन् । शुभकमना दिने क्रममा यसवर्ष ६ फागुनमा ज्ञानेन्द्रले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्याग्नुलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका थिए ।