२७ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरु सल्बलाउन थालेको टिप्पणी गरेका छन ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताए । सांसद पाण्डेले वर्तमान सरकारले समेत नयाँपन दिन नसकेका कारण प्रतिगमनकारीहरु सक्रिय भएको आरोप लगाए ।
उनले भ्रष्टचारीहरुलाई कारबाही गर्न वर्तमान सरकार पूर्णतः असफल भएको बताए । सरकारले शासन सञ्चालनमा पक्षपात गर्दै रवि लामिछानेलाई जिल्ला घुमाउने काम गरिएको सांसद पाण्डेको आरोप छ । उनले लामिछानेको जस्तै मुद्दामा काँग्रेस उपसभापति र एमाले सांसदहरुलाई कुनै कारबाही नगरिएको जिकिर गरे ।
उनले भने, ‘राजावादीहरु सल्बलाउनुमा सत्तामा बस्नेहरुले सुशासन दिन नसकेको, दुई तिहाईको सरकारले पनि नयाँपन दिन नसकेको, भ्रष्टाचार संस्थागत हुँदै गएको, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीहरुलाई कारबाही गर्न सरकार पूर्णतः असफल हुँदै गएको, भ्रष्टाचारका एकपछि अर्को घटनामा मन्त्री, कर्मचारी र उच्चपदस्थ व्यक्ति, सरकारद्वारा नियुक्त विभिन्न संस्थानका प्रमुख मुछिँदै गएको, शासन संचालनमा व्यापक पक्षपात भएको, सहकारी गठी आरोपमा यसै संसदका सांसद रवि लामिछानेलाई झन्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान र यातना दिने काम गरियो तर यस्तै आरोपमा मुछिएका कांगेस उपसभापति र नेकपा एमालेका सांसदलाई कुनै कारबाही भएन । यी सबैलाई मुद्दा नचल्ने बन्यो । रवि लामिछानेलाई मुद्दा चल्ने अरुलाई नचल्ने देखियो । सत्तापक्षलाई एउटा कानून र सत्ता बाहिरको लाई अर्को कानून जस्तै भयो ।’
वर्तमान सरकारले सत्तापक्षको लागि एउटा कानून र प्रतिपक्षको लागि अर्को कानून कार्यान्वयन गरेजस्तो देखिएको टिप्पणी गरे