२८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने स्टिल र अल्मुनियममाथि अतिरिक्त भन्सार महसुल दोब्बर बनाउने योजना स्थगित गरेका छन् ।
यी दुबै वस्तुमा महसुल ५० प्रतिशतमा पुर्याउने धम्की दिएको केही घन्टापछि नै ट्रम्प पछि हटेका हुन् ।
अहिले ती वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्दै आएको छ । मार्च १२ देखि यसलाई दोब्बर बनाउने भनिएको थियो ।
ट्रम्पको आक्रामक नीतिको प्रतिकारमा क्यानडाको ओन्टारियो प्रान्तले अमेरिकाको उत्तरी राज्यमा पठाउने बिजुलीमाथि २५ प्रतिशत नयाँ शुल्क लगाउने योजनालाई अहिलेका लागि थाँती राखेपछि ट्रम्प पनि केही लचिलो बनेका हुन् ।