|  

ट्रम्पले किने रातो टेस्ला !

२८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट मित्र एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लासँग रातो रंगको कार किनेका छन् ।

ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४–५ वटा गाडी पार्क गरिएका थिए । यिनीहरूमा साइबर ट्रक पनि थियो । यी मध्ये ट्रम्पले आफ्नो लागि रातो कार रोजेका छन् ।

८० हजार डलरमा आफूले मोडल एक्स कार किनेको ट्रम्पले पूष्टि गरेका छन् । आफ्नो प्रशासनमा सरकारी दक्षता विभाग (डज)का प्रमुख मस्कको ट्रम्पले प्रशंसा पनि गरे । मस्कलाई उनले एक असल व्यक्ति र देशभक्त भने । ‘जब मस्क र उनको कम्पनीलाई लक्षित गरेको देखेँ, मैले टेस्ला कार किन्ने निर्णय गरेँ । यो सार्वजनिक खरिद थियो र उनीले राम्रो काम गरिरहेका छन्’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने ।