२८ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ ।
कोइराला पक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा आज दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको हो । डा. कोइराला समूहका विद्यार्थीले लगाएको ताला केही समयपछि प्रहरीले फोडेको थियो । हिजो स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।
हिजो अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए ।