२८ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनलाई रोकेको सैन्य सहायता र खुफिया सूचना फुकुवा गर्ने निर्णय गरेको छ ।
साउदी अरेबियाको जेड्डामा अमेरिका र युक्रेनको वार्तापछि अमेरिकाले सो निर्णय गरेको हो । युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव पनि मानेको छ । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा चर्काचर्की भएको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता रोकेका थियो । साथै युक्रेनलाई रूसी सेनाबारे अमेरिकाले दिइरहेको खुफिया सूचना पनि रोकेको थियो।
सो निर्णयले युक्रेनलाई दिने प्रक्रियामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने बताइएको थियो । ट्रम्पको सो आदेशले युक्रेनलाई दिइने दसौं करोड डलर पैसा पनि रोकिएको थियो । युक्रेन सुरक्षा सहायता पहलमार्फत दिइने सो पैसाले युक्रेनले रूससँग लड्न अमेरिकी हतियार उत्पादकहरूबाट सिधै नयाँ सैन्य सामाग्री किन्न पनि सक्छ ।
युक्रेनले रूससँग शान्ति वार्ता गर्न प्रतिबद्धता देखाएको ट्रम्पले निर्धारण नगरूञ्जेल यो आदेश लागू हुने अमेरिकाले बताएको थियो। मंगलबार साउदीमा भएको वार्तामा युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी प्रस्ताव मान्ने भने पछि ट्रम्प सरकारले सहायता रोक्ने निर्णय फिर्ता गरेको हो । युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी प्रस्ताव रूसले पनि मानेपछि मात्रै कार्यान्वयन हुने भनेर अमेरिका र युक्रेन दुवैले मंगलबारको वार्तापछि जानकारी दिएका छन् ।