|  

भारत आउँदै स्टारलिङ्क इन्टरनेट, नेपालमा के छ तयारी ?

२८ फागुन, काठमाडौं । एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवा भारतमा आउने भएको छ ।

यसका लागि हालै भारतका दुई ठुला टेलिकम अपरेटरहरू रिलायन्स जिओ र भारती एयरटेलले स्पेसएक्ससँग सम्झौता गरेका छन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एलन मस्कसँग वासिङ्टनमा गरेको भेटघाटको एक महिनापछि भारतमा स्टारलिङ्क भित्र्याउने डिल भएको हो । भारती एयरटेल र रिलायन्स जिओले स्पेसएक्ससँग सहकार्य गरी भारतका दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने योजना बनाएका छन ।

त्यस्तै अर्को छिमेकी देश भुटानमा पनि स्टारलिङ्क सञ्चालनमा आउने भएको छ । भुटान इन्फोकम एन्ड मिडिया अथोरिटी (बीआईसीएमए)ले केही समय पहिले स्टारलिङ्कलाई इन्टरनेट सेवा प्रदायक (आईएसपी)को रूपमा अनुमति प्रदान गरेको छ । भारत र भुटानमा स्टारलिङ्क भित्रिने तयारीसँगै नेपालमा पनि यसबारे चर्चा सुरु भएको छ । गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एलन मस्कसँग ११ मिनेट लामो भिडिओ संवाद गरेका थिए । संवादमा नेपालमा स्टारलिङ्क भित्र्याउने विषयबारे पनि छलफल भएको थियो । तर यसबारे आधिकारिक प्रक्रिया अघि नबढेको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले सरकारी तवरबाट स्टारलिङ्क लगायत कुनै पनि स्याटलाइट इन्टरनेट सेवा भित्र्याउने तयारी अगाडि नबढेको जानकारी दिए ।

त्यस्तै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि स्टारलिङ्क इन्टरनेटका सन्दर्भमा प्रगति नभएको प्रतिक्रिया दिएको छ । प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौडेलले कुनै पनि प्रकारको इन्टरनेट सेवा सञ्चालन गर्न विद्यमान दूरसञ्चार ऐन अनुसार अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको बताए । यसअघि स्टारलिङ्क सन् २०२३ भित्र नेपालमा सेवा सुरु गर्ने योजना बनाएको थियो । त्यस क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग छलफल गरी सेवा विस्तारको तयारी भइरहेको जानकारी दिइएको थियो । तर कानुनी व्यवधानकै कारण स्टारलिङ्क पछि हटेको थियो ।